Loading...

भारतमा अदुवा निर्यात गर्न नपाउँदा दसैँ कसरी मान्ने भन्ने चिन्तामा किसान

4:08 AM

Loading...
रामपुर(पाल्पा), १५ असोज । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् ।

भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन् । गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्नुहुन्छ । गतवर्ष भारतीय नाकाबन्दीले रु सात लाख भन्दा बढी नोक्सानी ब्यहोर्नु भएका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा खरिद गर्न नआएको बताउनुभयो ।

यहाँका किसानले दसैँ पर्वलाई लक्षित गरेर अदुवा उत्पादन गर्दै आएकोमा यसवर्ष गाउँमा व्यापारी नआउँदा कसरी चाड मनाउने भन्ने चिन्ताले पिरोलेको किसान श्यामबहादुर दर्लामीले गुनासो गर्नुभयो ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवा खेतीलाई विस्तारका क्रममा सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य सङ्घ मार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । दुई नगरपालिकाबाहेक ६० गाविसका दश हजार भन्दा बढी घरपरिवार प्रत्यक्ष रुपमा अदुवाखेतीमा संलग्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

भैरवस्थान, पालुङ, मैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्दी गाविसलाई पकेटक्षेत्रको रुपमा विकास गरिएको छ ।

कोलडाँडा सत्यवतीका किसान देवबहादुर चिदीले पनि गतवर्ष ठूलो नोक्सान बेहोरे पनि यसवर्ष दश रोपनी क्षेत्रफलमा अदुवाको उत्पादन राम्रो भएको बताउनुभयो ।

उत्पादित अदुवा बुटवल बजारमा ८० रुपैयाँदेखि १०० रुपैँया प्रतिकेजीका दरले बिक्री हुने गरेको छ ।

जिल्लामा यसवर्ष एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिएको छ । कोलडाँडाका किसान जीतबहादुर सारुले अन्यखेतीका तुलनामा अदुवाखेती गर्न सजिलो भए पनि पछिल्लो समय बिक्री गर्न समस्या भएको बताउनुभयो ।

विगत दुई दशक अगाडिदेखि गाउँ/गाउँमा पुगेर अदुवा खरिद गर्दै आउनुभएका भारत गोरखपुरका व्यापारी सुरेश महासेठले यसवर्ष भारतमै अदुवाको उत्पादन हुन लागेकाले व्यापारी खरिद गर्न नआएको बताउनुभयो ।

पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा जिल्लामा उत्पादित अदुवा भारतको उत्तर प्रदेश राज्यका बजारमा मात्र खपत हुने गरेको उहाँले बताउनुभयो ।

सत्यवतीका किसान गुनबहादुर सिञ्जालीले छोराछोरीको बिहेमा लागेको ऋण तिर्नका लागि झन्डै ३० रोपनी जग्गा भाडामा लिएर अदुवा लगाउनुभएको छ । ऋण काढेरै भए पनि बीउ किनेर अदुवा लगाएँ, उत्पादन पनि राम्रै छ तर बजार नपाउँदा निकै तनाव भएको उहाँले बताउनुभयो ।

अहिलेको मूल्यमा बिक्री गर्न सकियो भने २० लाख बारबरको उत्पादन हुने र बिक्री गर्न सहज भएको खण्डमा ९० प्रतिशत नाफा हुने उहाँको भनाइ छ । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71