श्रीमानले दसैँ मान्न चाँडै घर फर्कन्छुृ भन्थे, लास पनि मलेसियामै अड्कियो
10:27 PM
Loading...
काठमाडौँ, १९ असोज - श्रीमानले गरेको फोनको अन्तिम कुराकानी जस्तै भएको भए सायद यतिबेला देवकी चौधरीको मुहारमा प्रशस्त खुसी देखिन्थ्यो। उनीपनि छिमेकीले जस्तै दसैँ मनाउने तयारीमा व्यस्त थिइन्। घर रंङ्ग्याउने र लुगाफाटा, खाद्यन्न लगायतका सामान किन्ने चटारो हुन्थ्यो। दसैँ खर्च श्रीमानले विदेशबाट कमाएर ल्याएका हुन्थे। तर दसैँ मान्न फर्किन्छु भन्दै फोन गरेका उदयपुरको त्रियुगा नगरपालिका ७ मोतिगडाका ३४ वर्षे टेकराज चौधरी असोज ९ गते मलेसियामा मृत भेटिए। न टेकराजको दसैँमा आउने चाहाना पुरा भयो नत परिवारको खुसी नै टिक्यो।
चार वर्षपछि भेट हुने चाहाना पनि अधुरै रह्यो। टेकराजसँगै परदेशिएका छिमेकी दसैँमा घर फर्किए। उनीहरुको परिवारमा दसैँको उत्सव छ। गाउँ भरका घर सिंगारिएको छ। टेकराजको घर अँधेरो छ। भित्ता कोतारिएका छन्।
टेकराजका २ छोरी करीना र सलिना बुबा आउने खुसीले फुरुङ्ग थिए। तर आज टोलका रमाईलोमा रमाउन सकेका छैनन्। टेकराज दसैँ मान्न फर्किने कुराले घरै उज्यालो भएको थियो। ६० वर्षे आमा तेतरीवती, ७४ वर्षे बुवा रतिलाल र २ भाइ उनको प्रतिक्षामा थिए। दसैँ आउनै लाग्दा पनि उहाँको प्रतिक्षा त सकिएको छैन। तर जिउँदो फर्किने आश सकियो। शव पर्खिनु परेको छ।
दसैँमा घर फर्किन्छु भनेका टेकराज भदौ अन्तिम सातादेखि बेखबर भए । परिवार खोजी सुरु गरे। परिवारले खोजीमा सहयोग गर्न जिल्ला विकास समितिले उदयपुरमा सञ्चालन गरेको सामिको सूचना केन्द्रमा निवेदन दिए । तर दश दिनपछि आफैंले फोन गरे। त्यस पछि देवकीसँग उनको राम्रै कुरा हुँदै थियो। असोज ९ गते पनि टेकराजले सधैं जस्तै फोन गरे।
सधैं घर व्यवहारको कुरा गर्ने श्रीमानले त्यो दिन फरक कुरा गरे। म भगवानको घरमा जाँदै छु, तिमी राम्रोसँग बस मेरो चिन्ता नलिनु। त्यसपछि उनले फोन गरेनन्। टेकराजसँगै कार्यरत साथीले फोन गरे। खबर आयो टेकराजले आत्मा हत्या गरे।
केहि दिनपछि भेट हुने आश गरेका टेकराजको मृत्युको खबर परिवारलाई पत्याउनै गाह्रो भयो। फेरि स्वीकार्नुको विकल्प पनि थिएन। दुई वर्षका लागि श्रम स्वीकृति लिएका टेकराज ४ वर्ष बसि सकेका थिए। श्रम स्वीकृति सकिएपछि बसे अवैधानिक भइन्छ। टेकराज पनि त्यसपछि अवैधानिक भैसकेका थिए। उनलाई त्यहाँ बसेर काम गर्न समस्या थियो।
अवैधानिक भएका कारण उनको शव नेपाल ल्याउन समस्या छ। मलेसियाको कानून अनुसार त्यहाँ रहेका अवैधानिक कामदारले जरिवाना तिर्नुपर्छ। टेकराजको शव नेपाल ल्याउन पनि १० हजार मलेसियन रिंगिट जरिवाना लाग्ने सँगै काम गर्ने साथीले परिवारलाई जानकारी दिएका छन्।
उनै टेकराजको भरमा चलेको परिवारसँग त्यत्रो रकम जुटाउने अवस्था छैन। झुपडीले ओगटेको भन्दा फाल्टो जग्गा छैन। टेकराजकै कमाईले धानिएको थियो परिवार। तर अब २ लाख ६० हजारको बोझ आइलाग्यो जुटाउने बाटो छैन। नजिकैको निजी विद्यालयमा पढ्दै गरेका करिना र सलिना सरकारी विद्यालयमा सर्नु पर्ने बाध्यतामा पुगेका छन् । शब्द, तस्बीर साभार : उज्यालो अनलाइन
0 comments