Loading...

अचम्म ! कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न कागेश्वर मेला

6:40 AM

Loading...
काठमाडौँ, २४ भदौ । कागको छुवाइ र विष्टयार्इंबाट हुने अनिष्टबाट बच्नका लागि काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वर महादेव मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।

यही विश्वासका आधारमा कागेश्वरमा हजारौँ भक्तजनको भीड लाग्ने गरेको कागेश्वरी मेला मूल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लामाले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको अष्टमीलाई कागे अष्टमी पनि भन्ने गरिएको छ ।

यस स्थानमा कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा विभिन्न किंवदन्ती रहेको स्थानीय वृद्ध ध्रुवप्रसाद ढकालले बताउनुभयो । एक किंवदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र, पार्वती र महादेवलाई खोज्न निस्कँदा यही स्थानमा आएपछि कागले सूचना दिएको थियो ।

“कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरियो”– अध्यक्ष लामाले भन्नुभयो ।

लिच्छवीकाल अगाडि यो ढुङ्गामा आएर एउटा गाईले दैनिक रुपमा दूध थुनबाट सिधै चढाउन थाल्यो । अर्को गाईले कागेश्वरी वरपर दूध चढाउँथ्यो, त्यो दूध कागले ल्याएर ठूलो ढुङ्गामा चढाउन थालेपछि यो देवस्थल हो भनी कागेश्वर महादेवको स्थापना गरिएको स्थानीय बाल उद्धार माविका सहायक प्रअ कमल ढकालले सुनाउनुभयो ।

यो स्थानमा पहिले सुनको काग भए पनि त्यो हराएर अहिले पित्तलको काग राखिएको छ । मन्दिरको दैनिक पूजाआजा चलाउनका लागि लिच्छवीकालबाटै ३००÷४०० रोपनी जग्गा गुठीका रुपमा राखिए पनि समय क्रममा त्यो जग्गा टाठाबाठाले खाइदिए । हाल मन्दिरको आयस्ता केही नभएको पुजारी रामेश्वर चालिसेको गुनासो छ ।

कागेश्वरी गुठीका नाममा बाँकी रहेको केही जग्गा पनि रैकर हुने प्रक्रियामा छ । यसपछि मन्दिरमा नियमित पूजा चलाउन पनि समस्या हुने चिन्तासमेत उहाँले प्रकट गर्नुभयो । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पौराणिक दृष्टिले महत्वपूर्ण यो मन्दिरको संरक्षणका लागि सरकारले उचित सहयोग गरिदिनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

यो महादेव मन्दिरलाई स्थानीय तामाङ समुदायले आफ्नो इष्ट देवताका रुपमा मान्ने गरेको स्थानीय दलबहादुर तामाङले बताउनुभयो । तामाङ समुदायको धार्मिक विश्वासमा यो महादेवको उत्पत्तिका सम्बन्धमा फरक किंवदन्ती छ । जसअनुसार परापूर्वकालमा यहाँ बसोबास गर्ने दुईजना तामाङ बूढाबूढीलाई खेतबारीमा उब्जनी कम भएका कारण बसाइँ सर्नुपर्ने समस्या आइप¥यो ।

बूढाबूढी अन्तै बसाइँसराइ गरी जान लागेपछि कागले “ए बा अन्त बसाइँसराइ गरी नजानुस् गाई ल्याएर पाल्नुस्”– भनेपछि बूढाबूढीले गाई ल्याएर पाल्न थाले । बूढाबूढीले पालेको गाईको दूधको तर कुँडेबाटै कागले लगी ठूलो ढुङ्गामा चढाउन थालेपछि यो स्थानमा शक्ति रहेछ भनी कागेश्वर महादेव नामकरण गरी पूजाआजा एवम् दर्शन गर्ने परम्परा बसालिएको कथा आफ्ना बुबाबाट सुनेको तामाङ बताउनुहुन्छ ।

कागले भाद्र शुक्ल अष्टमीका दिनमा तर लगी ठूलो ढुङ्गामा चढाएकाले यसै दिनमा मन्दिरसँगैको कागेश्वरी खोलामा आई स्नान गरेर पूजाआजा गरेमा कागले स्पर्श गरेको र विष्ट्याएको अनिष्टबाट जोगिने धार्मिक विश्वास रहेको तामाङ बताउनुहुन्छ । कागले स्पर्श गरेमा र विष्ट्याएमा अनिष्ट हुन्छ भन्ने विश्वास छ ।

“कागेश्वर महादेवको केही मुनि १७ वर्षअघि पार्वतीको उत्पत्ति भएपछि यस स्थानमा भक्तजनको सङ्ख्या बढ्ने गरेको छ”– स्थानीय डोल्मा तामाङले भन्नुभयो, “यहाँ पार्वतीको योनी आकार उत्पत्ति भएको छ, योनी आकारमा पनि भक्तजनले आजैका दिन पूजा गर्छन् ।”

सानै उमेरदेखि निरन्तर मन्दिरमा दर्शनका लागि आउनुभएका सुन्दरीजलका स्थानीय शिवराम दाहाल पहिले यति धेरै भीड नभए पनि विगत केही वर्षदेखि लाखौँ मानिस पूजा एवम् दर्शनका लागि आउने गरेको बताउनुहुन्छ ।

यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछन् । यो प्राकृतिक छटाले कागको अनिष्टबाट बच्न आउने नेपालीलाई मात्र होइन प्राकृतिक सौन्दर्यतामा रमाउन चाहने विदेशी पर्यटकलाई पनि आकर्षित गर्छ । अमेरिकाबाट घुम्न आउनुभएकी डोरमायल जोस्कोब यो स्थल मन नै छुवाउने खालको भएको बताउनुहुन्छ ।

कागे अष्टमी मेलाको अवसर पारेर सांसद रामेश्वर फुयाँलले कागेश्वरी धाम निर्माण गरिनुपर्ने बताउनुभएको छ । “गुरुयोजना नै बनाएर कागेश्वरी धामको निर्माण र विकास गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुन्छ, गोसाइँकुण्ड–कागेश्वर–नवतनधाम–पशुपति–जनकपुर–भारतको काशीलाई जोडेर पशुपति परिपथ निर्माण गरिनुपर्छ”– उहाँले भन्नुभयो ।

गोसाइँकुण्ड र पाँचपोखरीको दर्शन गरेर आउने भक्तजनले कागेश्वरीमा आई जल नचढाए दर्शनको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेको हिम्मत ढुङ्गानाले बताउनुभयो । “यसैकारण म गोसाइँकुण्ड र पाँचपोखरीको जल लिएर कागेश्वरीमा चढाउन आएको हुँ”– उहाँले भन्नुभयो ।

बौद्ध धर्मावलम्बीले भने कागेश्वरी महादेवलाई गुरु मानी झाँक्री बन्न चाहने नयाँ शिष्यलाई आजको दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको बज्रयोगिनी घुमारचोकबाट आउनुभएका लामा गुरु च्याङ्बा लामाले बताउनुभयो ।

आजको दिनमा आफ्नो खेतबारीमा फलेको मकै यहाँ ल्याएर चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने विश्वाससमेत छ । उपत्यकाका तीनै जिल्ला, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, धादिड., मकवानपुर, दोलखा, सिन्धुली, रामेछापलगायतका स्थानबाट भक्तजन यहाँ आउने गरेका छन् ।

यसैको प्रतिमूर्तिस्वरुप हनुमानढोकामा पनि कागेश्वर महादेव मन्दिर स्थापना गरिएको छ । हनुमानढोकामा पनि आज र काग तिहारका दिन भव्य मेला लाग्ने गर्छ । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71