Loading...

गृहमन्त्री निधीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरे

5:29 AM

Loading...
काठमाडौं, ७ असोज । उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिनुभयो ।


निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री निधीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।

साथै प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजीटल फरेन्सिक ल्याव, पोलीग्राफ र सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको उहाँले निरीक्षणसमेत गर्नुभयो । उक्त अवसरमा गृहसचिव लोकदर्शन रेग्मीको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उप–प्रधान तथा गृहमन्त्री निधीले वर्तमान सरकारको राजनीतिक, बिकास एवम् शान्ति सुरक्षासम्बन्धी प्राथमिकता रहेकोले संविधान कार्यान्वयनको सिलसिलामा हुने निर्वाचन लगायतका कार्यलाई सफल बनाउन नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने भूमिकाका लागि तयार रहन आग्रह गर्नुभयो ।

नयाँ संविधानअनुसार नेपाल प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको ध्यान जाने चर्चा गर्दै उहाँले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा सांगठनिक रुपमा तयार हुनुपर्ने बताउनुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, आमनागरिकलाई दैनिक जीवनमा सहयोग गर्ने जिम्मेवारीलाई उच्च मनोबलकासाथ अझै सशक्त रुपमा सम्पादन गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री निधीले प्रहरीको बृत्तिबिकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायतका बिषयमा क्रमिकरुपमा सुधार हुँदै जाने उल्लेख गर्नुभयो । प्रहरीको क्षमता अभिबृद्धिबाट सरकारकै क्षमता बढ्ने भएकोले समन्वयात्मक रुपमा कार्य सम्पादन गर्न गृहमन्त्रालय सदैव प्रहरीको साथमा रहेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा गृहसचिव लोकदर्शन रेग्मीले राम्रा कुरालाई निरन्तरता दिने तथा कमी कमजोरी भए सुधार्ने, जनतालाई सुरक्षाको विश्वसनिय वातावरण उपलब्ध गराउने र आधुनिकीकरणतर्फ रुपान्तरित हुन प्रहरीको भौतिक पूर्वाधारमा ध्यान दिने मन्त्रालयको प्राथमिकता रहेको चर्चा गर्दै यसका लागि आवश्यक कानून तथा रणनीति बनाउने, बजेटबारे छलफल गर्ने तथा अन्यायमा परेकाहरुका लागि न्यायको अनुभूति दिलाउने कुरामा मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो ।

चेन अफ कमाण्डमा रहने प्रहरी संगठनलाई अझै सबल र सुन्दर बनाउदै प्रभावकारी कार्य गर्ने वातावरण सिर्जना गर्न मन्त्रालय सदैव प्रहरीको साथमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक घटनाक्रमबाट कार्य सम्पादनमा आइपर्ने चुनौती, दैवी प्रकोप, विविध अपराधबाट सिर्जना हुने चुनौतीका वावजुद प्रहरीले सरकारका नीति निर्देशनलाई पालना गर्दै जनताको चाहनालाई आत्मसात गरी जनचाहना अनुरुप काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

संघीयताको सवालमा समयमै ठोस निर्णय आएमा नेपाल प्रहरी मानसिक रुपमा तयार भई अगाडि बढ्न सजिलो हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले जनताका गुनासा न्यून गर्न प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा लगायतका कार्यक्रम अगाडि ल्याइएको बताउनुभयो ।

प्रहरीका कानूनसम्मत काममा नेपाल सरकारको तर्फबाट सदैव सहयोग, सदभाव र भरोसा प्राप्त हुने आशासमेत उहाँले व्यक्त गर्नुभयो ।

निरीक्षणको क्रममा प्रहरी प्रधान कार्यालयकोतर्फबाट अन्वेषण योजना निर्देशनालयका प्रहरी नायव महानिरीक्षक देबेन्द्र सुवेदीले नेपाल प्रहरीको प्रशासनिक एवम् समसामयिक गतिविधि सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसअघि गृहमन्त्री निधी र गृहसचिव रेग्मीलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71