विभिन्न व्यक्तिको आर्थिक सहयोगमा आमासँगै बालक जेलबाट छुटे - read more news
12:22 AM
Loading...
काठमाडौँ, ५ भदौ - अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा कारागारमा रहेका आमा र सँगै रहेका उनका छोरा आज मंगलबार जेलमुक्त भएका छन्। अदालतले तोकेको २० हजार धरौटी तिर्न नसक्दा सुकमाया मिजार र उनका ५ बर्षीय छोरा सुजन करीब एक महिनादेखि कारागारमा रहेको समाचार संचार माध्ययममा आएपछि ब्यक्तिहरुको आर्थिक सहयोगमा उनीहरुलाई जेलमुक्त गराइएको हो।
धरौटी रकम बुझाएपछि सुकमायालाई अदालतले तारेखमा छोडेको छ। मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा उनलाई अदालतले २० हजार धरौटी मागेको थियो। धरौटीका लागि लमजुङको कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र दोलखा घरभएका चन्द्र लामाले सहयोग गरेका थिए।
लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापा मार्फत लामाले २० हजार सहयोग गरेका थिए। अधिकारी आफैंले २० हजार ९८ रुपैयाँ पठाएका हुन्। बालकको सहयोगका लागि सामाजिक सञ्जाल ‘न्यानो स्पर्श समूह बाट ५ हजार सहयोग प्राप्त भएको पत्रकार दीपक अधिकारीले बताए।
बालकको उद्दारपछि जिल्ला प्रशासन कार्यालय लमजुङमामा बसेको जिल्ला बालकल्याण समितिको बैठकले बालकको सहयोगका लागि उनको नाउँमा खाता खोल्न सिफारिस गर्ने र नेपाल बालसंगठन अन्तर्गतको कपिलबस्तुको बालगृहमा राख्नलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। उनका अनुसार बालक १६ बर्ष नपुगुञ्जेल जिल्ला बालकल्याण समितिको सिफारिसमा मात्र उक्त रकम खर्च गर्न पाउने गरि सिफारिस गर्ने निर्णय गरिएको छ।
0 comments