सुप्रिम कलेज काठमडौँका विद्यार्थी गरे गिरानचौर नमुना बस्तीमा श्रमदान read more news
9:08 PM
Loading...
सिन्धुपाल्चोक (गिरानचौर), ३१ भदौ - सुप्रिम कलेज सामाखुसीका विद्यार्थी एवम शिक्षकले गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनामा पुगेर बिहीबार एकदिने श्रमदान गरेका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पबाट घर भत्केकाका लागि सो गाउँमा एक सामुदायिक भवनसहित ६५ आवासीय भवन निर्माण गरिरहेको छ । फाउन्डेसनले देश–विदेशका व्यक्ति, सङ्घसंस्थाबाट प्राप्त करिब पाँच करोड रुपैयाँ लागतमा मेलम्ची नगरपालिका–८ मा गत वैशाखदेखि घर बनाउने काम थालेको हो।
सुप्रिम कलेजका ३० विद्यार्थी एवम् अध्यापकले निर्माणाधीन घरवरपर थुप्रिएको माटो फाल्ने, ब्लकसहितका निर्माण सामग्री ओसार्नेजस्ता श्रमदान गरेका थिए । कलेजका कोअर्डिनेटर ओमबहादुर अधिकारीले भूकम्पपीडितका लागि धुर्मुस–सुन्तलीले थालेको घर निर्माण अभियानमा केही भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा फाउन्डेसनले गर्ने काममा अझै जनश्रमदान गर्ने वचन दिनुभयो।
विद्यार्थीहरु मुकुन्द बस्नेत र अक्रिना खकुरेलले विद्यार्थीमा समाजसेवाको भावना जागृत गराउन व्यावहारिक रुपमै जनश्रमदान गरिएको बताउनुभयो । काठमाडौँबाट वनेपा, मेलम्ची हुँदै ७४ किलोमिटर टाढाको सो गाउँमा बाल, अपाङ्ग र वातावरणमैत्री एकीकृत नमुना बस्तीमा शनिबार झन्डै चारसय व्यक्ति अवलोकन एवम् जनश्रमदानका लागि आउने परियोजनाका कोअर्डिनेटर अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो।
जम्मा ६५ घरका ४०० जना लाभान्वित हुने ३० रोपनीमा निर्माणाधीन परियोजनामा नेपाली सेना, क्विक भोलन्टियर तथा विदेशीले समेत जनश्रमदान गरिरहेका छन् । कलाकार सीताराम कट्टेल धुर्मुस ले जिम्मेवार नागरिकका रुपमा सहयोग जुटाएर भूकम्पपीडितलाई सहयोग थालिएको बताउँदै यो सबै नेपालीको साझा अभियान भएको बताउनुभयो । सुप्रिम कलेजका शिक्षकहरु रमेशचन्द्र अधिकारी, अशोक थापा र दीपक सिलवालले एकीकृत नमुना बस्ती साँच्चैको नमूना कार्य भएको धारणा राख्नुभयो । रासस
0 comments